काठमाडौं । हुलाकी राजमार्ग अन्तर्गत कञ्चनपुरको मोहना नदी–डोकेबजार–बेलौरी–बेलडाँगी–दैजी सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ।
सडक विभाग अन्तर्गतको हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय धनगढीले बिहीबार बाबा हन्स—सिद्धीसाई संयुक्त उपक्रम ९जेभी० काठमाडौँसँग भएको ठेक्का सम्झौता अन्त्य गरेको सार्वजनिक सूचना जारी गरेको हो।
सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७३र७४मा ठेक्का सम्झौता भएको थियो । करिब २० किलोमिटर सडकमध्ये ५ किलोमिटर मात्र कालोपत्रे गर्न बाँकी रहेको छ । निर्माण प्रगति करिब ८२ प्रतिशत रहेको छ ।
पटक—पटक ताकेता गर्दा काम नगरेको, प्रतिबद्धता बमोजिम काम नगरेको र साइट ठप्प बनाएकाले ठेक्का तोडिएको योजना कार्यायल धनगढीले जनाएको छ । ठेक्का सम्झौता रद्ध गरिएको निर्माण व्यवसायीको कार्य सम्पादन जमानत जफत गरिनेछ ।
यसअघि, गत कार्तिक १४ गते योजना कार्यालय धनगढीले ठेक्का किन नतोड्ने भन्दै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधेको थियो। निर्माण व्यवसायीले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सार्वजनिक खरिद कानुनको व्यवस्था अनुसार ठेक्का रद्द गरिएको हो।
निर्धारित अवधिमा काम सम्पन्न गर्न नसकेको, काम सम्पन्न गर्ने अद्यावधिक कार्यतालिका, स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहित निर्माण व्यवसायीको आधिकारी प्रतिनिधि कार्यालयमा उपस्थित नभएको र काम सुचारु गर्नेतर्फ तदारुकता नदेखाएको हुँदा सार्वजनिक खरिद ऐन तथा ठेक्का सम्झौता उल्लङ्घन भएको जनाइएको छ।
ऐनको प्रावधान अनुसार कार्य सम्पादन जमानत वापतको रकम जफत हुनेछ। बाँकी काम पूरा गर्न लाग्ने रकम सरकारी बाँकी सरह असुल उपर गरिनेछ र निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ।
कार्यालयले हालसम्म अद्यावधिक भएको र बाँकी कामको नापजाँच मूल्याङ्कन गरी वित्तीय फरफारक गर्न १५ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्माण व्यवसायीलाई अनुरोध गरेको छ। निर्माण व्यवसायी उपस्थित नभएमा कार्यालय आफैँले नापजाँच गर्नेछ।