काठमाडौँ । दक्षिण कोरियास्थित नेपाली राजदूत डा। शिवमाया तुम्बाहाङ्फेले कूटनीतिक मर्यादाविपरीत पार्टीगत गतिविधि गरेको भन्दै विपिन गुरुङ नेतृत्वको गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसमक्ष ज्ञापनपत्र बुझाएको छ ।
कोरिया भ्रमणमा रहँदा आयोजित एक कार्यक्रममा मन्त्री खरेललाई बुझाइएको ज्ञापनपत्रमा राजदूत तुम्बाहाङ्फेले आफ्नो पदीय जिम्मेवारी बिर्सेर नेकपा (एमाले) निकट व्यक्तिहरूसँग मिलेर पार्टीगत हितमा काम गरेको, प्रवासी नेपाली समुदायमा विभाजन ल्याएको र असंवेदनशील व्यवहार देखाएको गम्भीर आरोप लगाइएको छ ।
एनआरएनए कोरियाका अध्यक्ष विपिन कुमार गुरुङ र महासचिव नरेश शर्माद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा राजदूत तुम्बाहाङ्फे एमालेको कोटाबाट नियुक्त भएको उल्लेख गर्दै दूतावासले दलनिरपेक्ष भूमिका खेल्न नसकेको बताइएको छ। दूतावासले आफ्नो आधिकारिक जिम्मेवारीभन्दा बाहिर गई दलविशेषका व्यक्तिहरूसँग नजिकिएर पार्टीगत हितका गतिविधिहरूमा संलग्न भएको गम्भीर जानकारी प्राप्त भएको छ, ज्ञापनपत्रमा भनिएको छ ।
यसका साथै विदेशमा मृत्यु भएका नेपालीका परिवारलाई सहयोग गर्नुपर्नेमा दूतावासले असंवेदनशील प्रतिक्रिया दिने गरेको, सहयोगको पुकार गर्दा उपेक्षा र उदासीनता देखाएको जस्ता घटनाले प्रवासी नेपालीमा गहिरो निराशा छाएको उल्लेख छ ।
ज्ञापनपत्र बुझ्दै मन्त्री खरेलले राजदूतले प्रवासी नेपालीको मन जित्ने गरी काम नगरे सरकारले उनको पदबारे पुनर्विचार गर्न सक्ने चेतावनी दिए । उनले भने, उहाँ (राजदूत) लाई यहाँ राम्रो काम गरेकोले राखेको होइन, हामीले समावेशिताको कुरा गर्दा बल्ल-बल्ल एउटा महिला राजदूत भएकोले फिर्ता नगरेका हौँ । तर उहाँले राम्रो काम गर्नुपर्छ ।
मन्त्री खरेलले थपे, यदि यस्तै खालका मागपत्रहरू बढ्दै गए, यहाँ रहेका एक लाख नेपालीले मन नपराउने अवस्था आयो भने सरकारले सोच्न सक्छ । सबैतिरबाट गुनासो आइरह्यो भने त सरकारले यहाँको मात्र हैन, जहाँको राजदूतको सन्दर्भमा पनि सोच्नु परेन ?
मन्त्री खरेलले आफू कोरिया आउने तीन हप्ताअघि नै जानकारी हुँदा पनि दूतावासले गर्नुपर्ने कुनै तयारी नगरेको भन्दै दूतावासको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गरे । उनले ज्ञापनपत्र केवल लिनका लागि नभई यसमाथि गम्भीर छानबिन र कारबाहीको पहल गर्ने प्रतिबद्धतासमेत जनाए ।
‘ग्लोबल आईसीटी लिडरसिप फोरम’मा सहभागी हुन कोरिया गएका मन्त्री खरेल नेपाली समुदायले गरेका विभिन्न कार्यक्रममा समेत सहभागी भएका थिए ।