×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरेको छ । भ्रष्टाचार मुद्दा दर्ताका लागि अख्तियारको टोली विशेष अदालतमा आइसकेको र हाल अभियोग पत्र रुजु गर्ने कार्य भइरहेको उपरजिस्ट्रार मुकुन्द निरौलाले जानकारी दिए ।

अख्तियारले पूर्वमन्त्रीहरु रामशरण महत, दीपक अमात्यसहित ५ पूर्वमन्त्रीलाई प्रतिवादी बनाउँदै ८ अर्ब बिगो कायम गरेर भ्रष्टाचार मुद्दा दर्ता गर्न लागेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीलाई पनि प्रतिवादी बनाइएको छ ।

पोखरा विमानस्थल निर्माणमा १० अर्ब भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै संसदीय समितिले कारबाहीका लागि अख्तियारलाई छानबिन गर्न निर्देशन दिएको थियो । संसदीय समितिको सिफारिसमा अख्तियारले छानबिन पूरा गरेसँगै ५५ जनालाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दर्ता गर्न लागेको हो ।

तत्कालीन सार्वजनिक लेखा समिति मातहत गठित उपसमितिले विमानस्थल निर्माणमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको ठहर गरेको थियो । वैशाख ०८२ मा उपसमितिले बुझाएको प्रतिवेदनमा विमानस्थल निर्माणमा ठेक्का सम्झौतादेखि नै अनियमितता र भ्रष्टाचार भएको ठहर गरेको छ । 

लागत नै आठ अर्ब बढाएर ठेक्का प्रक्रियाबाटै भ्रष्टाचारको सुरुवात गरिएको उपसमितिको निष्कर्ष छ । लागत बढाएको त्यसअनुसारको आकारमा विमानस्थल निर्माण नगरेको, सम्झौता विपरीत अतिरिक्त भुक्तानी दिएको, रनवे निर्माणमा हिनामिना गरेको, सम्झौता विपरीत दुई अर्बभन्दा बढी कर छुट दिएको, परामर्श सेवा र इन्धन भण्डारणलगायतमा हिनामिना गरेको संसदीय उपसमितिको ठहर छ ।

उपसमितिले प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसहित पूर्वमहानिर्देशकद्वय सञ्जीव गौतम र राजन पोखरेल, निर्देशकत्रय बिनेश मुनाकर्मी, चाँदमाला श्रेष्ठ र ई। बाबुराम पौडेल, उपनिर्देशक ई. प्रवीण न्यौपाने र प्रशासन प्रमुख राजेन्द्रप्रसाद पौडेलउपर छानबिन गरी कानुनबमोजिम हदैसम्मको कारबाही गर्न अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिनुपर्ने निष्कर्ष निकालेको थियो ।

संसदीय समितिको प्रतिवेदनमा विभिन्न शीर्षक र उप– प्रतिवेदनमा शङ्कास्पद खर्च भएको उल्लेख छ । प्रतिवेदनमा  कर छुटमा सबैभन्दा धेरै २ अर्ब २२ करोड रुपैयाँ अनियमितता भएको उल्लेख गरेको छ । विमानस्थल निर्माण गर्ने कम्पनीले किन्नुपर्ने एसी प्राधिकरणले किनेर ९ करोड ६५ लाख ३८ हजार रुपैयाँ, नाली निर्माणमा भएको १ अर्ब ३८ करोड ४२ लाख रुपैयाँ, कामै नगरी  ग्राभेल माटोमा देखाएको ७१ करोड ४८ लाख खर्च भ्रष्टाचार भएको उल्लेख छ ।

रनवे ट्याक्सी माटो भरेको भनेर ढाँटेको २१ करोड ७ लाख,  विमानस्थलमा माटो भर्न भनेर खर्च देखाए पनि काम नगरी भुक्तानी देखाएको २ अर्ब ८९ करोड ३० लाख, परामर्श भनेर प्राधिकरणले खर्च गरेको ३६ करोड ४० लाख रुपैयाँ,  इन्धन भण्डार नबनाएको तर खर्च देखाएको २ करोड ८६ लाख रुपैयाँ छिनेडाँडा काट्न ठेक्का पाउने कम्पनीले गर्नु पर्नेमा प्राधिकरणले खर्च गरेको ३२ करोड २ लाख रुपैयाँ गरेर करिब ८ अर्ब २३ करोड २५ लाख भ्रष्टाचार भएको प्रतिवेदनमा उल्लेख छ ।

 यसका आधारमा विमानस्थल निर्माणमा सबैभन्दा धेरै कर छुट र माटो भर्ने आवरणमा भएको प्रतिवेदनको विवरणले देखाउँछ । खुला प्रतिस्पर्धाविना, अस्पष्ट विधिमा वा अस्वीकृत भुक्तानीका रूपमा खर्च गरिएको भनेर प्रतिवेदनमा उल्लेख भएका रकम जोड्दा यो अङ्क निस्किएको बताइएको छ । 

प्रतिकृया दिनुहोस्