काठमाडौं । आउँदो २१ फागुनमा हुने संघीय निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दल र नेताहरूको गतिविधि तीव्र बनेको छ । पुराना दलका धेरै नेता अहिले आफू सम्हालिरहेको पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा होमिने तयारीमा जुटेका छन् ।
निर्वाचन आयोगले आजदेखि समानुपातिक सांसदहरूको सूची बुझाउने समय दिएको छ । त्यससँगै दलहरू आन्तरिक छलफलमा व्यस्त छन् । समानुपातिक सूचीमा नपरेका प्रदेश सांसद, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू राजीनामा दिएर संघीय चुनावमा प्रतिस्पर्धा गर्ने तयारीमा लागेका हुन् ।
प्रदेशसभा छाडेर प्रतिनिधिसभातर्फ
मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह प्रदेशसभा सदस्य पद त्यागेर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएका छन् । ४३ वर्षीय सिंह सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का स्थायी बासिन्दा हुन् । उनी २०७४ देखि २०७९ सम्म सोही गाउँपालिकाको अध्यक्ष थिए ।
राजनीतिक यात्रामा दल परिवर्तन गर्दै आएका सिंह २०७९ भदौमा जनमत पार्टीमा प्रवेश गरी प्रदेशसभा सदस्य निर्वाचित भए । जनमत पार्टीबाटै उनी २५ जेठ २०८१ देखि २८ असोज २०८२ सम्म मधेश प्रदेशका मुख्यमन्त्री बने । आगामी निर्वाचनमा उनी स्वाभिमान पार्टीबाट सप्तरी–२ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्दैछन् ।
प्रदेशसभा सदस्य छाडेर प्रतिनिधिसभा चुनाव लड्ने अर्का नेता हुन् मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सरोजकुमार यादव । ४७ वर्षीय यादव महोत्तरी–४ बाट एमालेका तर्फबाट उम्मेदवार बनेका छन् । उनी २३ कात्तिक २०८२ मा मुख्यमन्त्री बने पनि अल्पमतमा परेपछि १७ मंसिर २०८२ मा राजीनामा दिएका थिए ।
मधेश प्रदेशका सांसद रहबर अन्सारी पनि राजीनामा दिएर प्रतिनिधिसभा उम्मेदवार बन्ने तयारीमा छन् ।
बागमती प्रदेशसभा सदस्य युवराज दुलाल (शरद) ले नेपाली कम्युनिस्ट पार्टीबाट सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभाको टिकट पाइसकेका छन् । २०७४ र २०७९ मा प्रदेशसभा सदस्य निर्वाचित उनी पटक–पटक मन्त्रीसमेत बनेका थिए ।
काठमाडौं–६ (ख) बाट निर्वाचित बागमती प्रदेशसभा सदस्य अमनकुमार मास्के पनि प्रतिनिधिसभा चुनावमा होमिने भएका छन् । एमाले केन्द्रीय सदस्यसमेत रहेका मास्के काठमाडौं–६ बाट उम्मेदवार सिफारिसमा परेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री तथा बागमती प्रदेशका पूर्वसभामुख भुवनकुमार पाठकले यसअघि नै प्रदेशसभा सदस्यबाट राजीनामा दिइसकेका छन् । उनी काठमाडौं–४ बाट प्रतिनिधिसभा चुनाव लड्ने तयारीमा छन् ।
सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री प्रकाशबहादुर शाहलाई नेकपाले बाजुराबाट उम्मेदवार बनाएको छ । यस्तै, लुम्बिनी प्रदेशका पूर्वमन्त्री कृष्णध्वज खड्कालाई नेकपाले प्युठानबाट प्रतिनिधिसभा उम्मेदवार बनाएको छ ।
स्थानीय तहका प्रमुखहरू पनि संघीय राजनीतितर्फ
स्थानीय तहबाट प्रतिनिधिसभा चुनाव लड्नेमध्ये सबैभन्दा चर्चामा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह छन् । २०७९ को स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित बालेन अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत भइरहेका छन् । उनी झापा–५ बाट प्रतिनिधिसभा चुनाव लड्ने तयारीमा छन्, जहाँ एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिस्पर्धी छन् ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पनि कार्यकाल नसकिँदै प्रतिनिधिसभा चुनावमा होमिएका छन् । स्वतन्त्र रूपमा निर्वाचित उनी सुनसरी–१ बाट श्रम संस्कृति पार्टीको तर्फबाट उम्मेदवार बन्ने तयारीमा छन् ।
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल पनि पद छाडेर चितवन–३ बाट प्रतिनिधिसभा उम्मेदवार बन्दैछिन् । दुई कार्यकाल मेयर रहेकी दाहाललाई नेकपाले उम्मेदवार बनाएको हो ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा दोस्रो कार्यकाल पूरा नगर्दै एमालेबाट स्याङ्जा–२ को प्रतिनिधिसभा उम्मेदवार बनेका छन् ।
कैलालीको टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारु पनि पद छाडेर प्रतिनिधिसभा चुनावमा होमिएका छन् । उनलाई नेकपाले कैलाली–१ बाट उम्मेदवार बनाएको छ ।
उपप्रमुख र वडाध्यक्षसमेत उम्मेदवार
ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापा पनि प्रतिनिधिसभा उम्मेदवार बन्दैछिन् । २८ वर्षीया थापालाई एमालेले उम्मेदवार बनाउने निर्णय गरेको छ ।
धरान उपमहानगरपालिका–१७ का वडाध्यक्ष मनोज भट्टराई पनि प्रतिनिधिसभा चुनावमा प्रतिस्पर्धा गर्दैछन् । उनी सुनसरी–१ बाट नेकपाको तर्फबाट उम्मेदवार बन्ने तयारीमा छन् । भट्टराई लगातार दुई पटक वडाध्यक्ष निर्वाचित भएका थिए ।