काठमाडौं । माघे संक्रान्तिको मागलाई लक्षित गर्दै पुस महिनामा साढे १७ करोड रुपैयाँभन्दा बढीको कन्दमुल भित्रिएको छ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पुस महिनामा मात्रै १७ करोड ६५ लाख ३७ हजार १ सय २० रुपैयाँ बराबरको २२ लाख ६ हजार ७ सय १४ किलो विभिन्न प्रकारका कन्दमुल भित्रिएका प्रवेश गरेका छन्।
भित्रिएका कन्दमुलमध्ये सबैभन्दा बढी तरुल रहेको छ। कुल कन्दमुलमध्ये करिब ६२ प्रतिशत अर्थात् १३ लाख ६१ हजार ७ सय ६९ किलो तरुल भित्रिएको हो। औसत ७५ रुपैयाँ प्रतिकिलोका दरले मात्रै तरुलको कारोबार १० करोड २१ लाख ३२ हजार ६ सय ७५ रुपैयाँ पुगेको समितिले जनाएको छ।
यसैगरी पुस महिनामा २ लाख ४६ हजार ७ सय ९८ किलो पिडालु र ५ लाख ९८ हजार १ सय ४७ किलो सखरखण्ड पनि कालिमाटी बजारमा भित्रिएको छ।
चालु आर्थिक वर्षको पुस महिनासम्ममा कुल ३४ लाख ८९ हजार ३ सय ८२ किलो कन्दमुल बजारमा भित्रिएको छ। यसमध्ये १८ लाख ५ हजार ८ सय ३० किलो तरुल, ५ लाख ७५ हजार ८४ किलो पिडालु र ११ लाख ७ हजार ५ सय ६८ किलो सखरखण्ड रहेको छ। औसत ८० रुपैयाँ प्रतिकिलोका दरले कन्दमुलको कुल कारोबार २७ करोड ९१ लाख ५० हजार ५ सय ६० रुपैयाँ पुगेको छ।
माघे संक्रान्तिका बेला विशेष रूपमा घर तरुल, तराई तरुल, रातो तरुल, हात्ती पाइले तरुल, बन तरुल तथा भारतबाट आयात हुने सिमल तरुलको माग उच्च हुने गर्दछ। यस वर्ष थोक बजारमा तराई तरुल प्रतिकिलो ८० देखि १०० रुपैयाँ, रातो तरुल १४० देखि १७० रुपैयाँ, हात्ती पाइले तरुल ६० देखि ८० रुपैयाँ, बन तरुल १५० देखि २५० रुपैयाँ र सिमल तरुल ६० देखि ८० रुपैयाँमा कारोबार भएको छ।
नेपालमा सिमल (तराई जातको) तरुलको उत्पादन कम हुने भएकाले भारतको उत्तर प्रदेशबाट आयात हुने गरेको समितिले जनाएको छ। कन्दमुल समूहभित्र तरुल, पिडालु, सखरखण्ड र स्कुल जातका कन्दमुल पर्छन्।
माघे संक्रान्तिका दिन चाकु, तिलको लड्डु र घिउसँगै तरुलसहितका कन्दमुल खाने परम्परा रहेकाले यस समयमा यसको व्यापार उल्लेख्य रूपमा बढ्ने गरेको छ।
यस वर्ष कालिमाटी बजारमा धादिङ, नुवाकोट, दोलखा, चितवन, काभ्रे, मकवानपुर, सर्लाही, तनहुँ, पाल्पा, स्याङ्जा, गोरखा, नवलपरासी, ललितपुरलगायत जिल्लामा उत्पादन भएका १३ प्रकारका तरुल भित्र्याइएको समितिले जनाएको छ।