काठमाडौं । पर्सा ठोरीमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ । ठोरी गाउँपालिका–२ गोलेडाँडा (रेड हिल) मा भारतीय तथा आन्तरिक पर्यटक लक्षित गर्दै ‘ठोरी इकोलक्स रिट्रिट’ रिसोर्ट सञ्चालनमा आएको हो ।
‘प्रकृति र विलासिताको संगम ठोरी इकोलक्स रिट्रिट, हिमालयको स्वाद’ थिमसहित सञ्चालनमा आएको रिसोर्टमा युरोपियन डिजाइनका सुविधा सम्पन्न आवासीय भिल्ला उपलब्ध छन् । रिसोर्टमा हिमालयको स्वादलाई मुख्य प्राथमिकता दिइएको छ ।
ठोरी इकोलक्स रिट्रिटका अध्यक्ष छतेन्द्र आचार्यले पाहुनालाई ठोरीमा नै हिमालयको स्वाद उपलब्ध गराइने सोच सहित रिसोर्ट सञ्चालनमा ल्याइएको बताए।
‘ठोरीमा आउने पाहुनालाई हिमालयको काखमा उब्जाउ भएका उत्पादनहरूका स्वाद चखाउने हाम्रो लक्ष्य हो, हामीले मुस्ताङको आलु, दाल, सिमी, टिमुर, लसुन ठोरीमा ल्याएका छौं, रसुवाको लेकमा पालिएका चौंरीको घिउ ठोरीमा हिमालय खाना सेटमा हामीले उपलब्ध गराएका छौं,’ अध्यक्ष आचार्यले भने।
यसैगरी कास्कीको ‘जेठो बूढो’ को धानको चामल ‘हिमालय सेट’ मा ठोरीमा उपलब्ध गराइएको आचार्यले जानकारी दिए ।
स्थानीय छतेन्द्र आचार्य, धर्म विष्ट, ऋषि खनाल, महेश गौतम र विकल आचार्य गरी पाँच युवाको ३ करोड रुपैयाँ लगानी र पहलमा सञ्चालनमा आएको यो रिसोर्ट कुल डेढ बिघा क्षेत्रफलमा फैलिएको छ।
अंग्रेजी नयाँ वर्षमा प्याकेज
ठोरी इकोलक्स रिट्रिटले अंग्रेजी नयाँ वर्षका लागि लाइभ म्युजिकसहितको प्याकेज बनाएको छ ।
भोलि बुधबार सन् २०२५ को अन्तिम साँझ अर्थात न्यु इयर इभका लागि ‘स्क्रेमिङ सोल’ ब्यान्डका साथ लाइभ सांगीतिक साँझ आयोजना हुने भएको हो ।
यस्तै १ जनवरी २०२६ (नयाँ वर्ष) का दिन समेत लाइभ प्रस्तुति हुनेछ । लाइभ कार्यक्रममा स्न्याक्स र ड्रिन्क्स एक हजार रुपैयाँको टिकटसँगै प्याकेजमा समावेश छ ।
कालिजदेखि च्याग्राको सुकुटीसम्म, भारतीय र नेपाली खाना एकै स्थानमा
इकोलक्स रिट्रिटको अर्को आकर्षण कालिज परिकार भएको उनले बताए । रिसोर्टकै फार्ममा पालन गरिएका कालिज पाहुनाले आफैं छानेर विभिन्न परिकारका रूपमा स्वाद लिन सक्छन् । एउटा कालिजको मूल्य चार हजार रुपैयाँ तोकिएको रिसार्टका अध्यक्ष आचार्य बताउँछन् । यसका साथै आफ्नै फार्ममा उत्पादन भएका लोकल कुखुराका परिकार, मुस्ताङको च्याग्राको सुकुटी पनि पाहुनाको रोजाइ अनुसार उपलब्ध गराइने बताइएको छ ।
कफि पारखीका लागि इकोलक्स रिट्रिटले ठोरीमै पहिलोपटक उच्च प्रविधिको कफि मेसिन भित्र्याएको जनाएको छ । कफि बिन्सबाट बनेका एसप्रेसो, अमेरिकानो, लाते लगायतका विभिन्न कफिका स्वाद रिसोर्टमा यहाँ चाख्न सकिन्छ ।
रिसोर्टमा भारतीय पर्यटकका लागि भारतीय खाना सेट, नेपाली पर्यटकका लागि हिमालय खाना सेट र स्थानीय खाना सेट उपलब्ध रहेको रिसोर्टले जनाएको छ । स्थानीय कृषकबाट उत्पादित तरकारी र सामग्री प्रयोग गरेर परिकार तयार गरिने सञ्चालकहरूको भनाइ छ ।
भिल्ला, रुम र टेन्टको सुविधा
पाहुनाले आफ्नो चाहना अनुसार कपल भिल्ला, पारिवारिक भिल्ला, साधारण रुम तथा सिंगल, डबल र ग्रुप टेन्ट रोज्न सक्नेछन् । युरोपियन डिजाइनका भिल्लाले आरामदायी बसाइको अनुभव दिने अपेक्षा गरिएको रिसोर्टका अध्यक्ष छतेन्द्र आचायले बताए ।
इकोलक्स रिट्रिटले भारतीय तथा नेपाली पर्यटकका लागि धार्मिक पर्यटनलाई समेत समेटेको जनाएको छ ।
ठोरीबाट चितवन–पोखरा हुँदै मुक्तिनाथ तथा हेटौंडा हुँदै काठमाडौंका दक्षिणकाली, स्वयम्भू, हनुमानढोका, भक्तपुर र पाटन दरबार स्क्वायरसहित पशुपतिनाथ, कालभैरव र संकटा मन्दिर दर्शनको प्याकेज तयार गरिएको छ । यस्तै आन्तरिक पर्यटकका लागि भारतको नरकटियागञ्ज हुँदै पटना, बनारस, अयोध्या, लखनउ, गोवा, आगरा, वैष्णोदेवी र दिल्लीसम्मका रेल तथा कार प्याकेज पनि उपलब्ध गराइएको उनले बताए ।
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा जंगल सफारी
ठोरी इकोलक्स रिट्रिटमा आउने पर्यटकका लागि चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको जंगल सफारी प्याकेज पनि तयार गरिएको छ।
चितवन राष्ट्रिय निकुञ्जको प्याकेजमा माडी हुँदै कसरा र सौराहासम्मको प्याकेज तथा पर्सा राष्ट्रिय निकुञ्जको प्याकेजमा इच्छानगर हुँदै शिकारीवाससम्मको जंगल सफारी प्याकेज समावेश छ ।
यसैगरी सिद्धेश्वर महादेव दर्शन, वनशक्ति माईको मन्दिर दर्शन, सीता गुफा भ्रमण, ह्वाइट हिल, बाघमोर्चा मन्दिरको प्याकेजसमेत ग्राहकको इच्छा अनुसार तय हुनेछ ।