काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिना (मंसिरसम्म) वाणिज्य बैंकहरूले पर्यटन सेवा प्रदान गर्ने क्षेत्रमा सवा २ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार मंसिरसम्म २० वटा वाणिज्य बैंकबाट पर्यटन क्षेत्रमा कुल २ खर्ब २५ अर्ब ३४ करोड ५९ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा यो रकम २ खर्ब १४ अर्ब ५९ करोड ५५ लाख रुपैयाँ रहेको थियो। यसरी समीक्षा अवधिमा पर्यटन क्षेत्रमा जाने कर्जा ५.०१ प्रतिशतले वृद्धि भएको छ।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा १५ वटा बैंकको कर्जा लगानी बढेको छ भने ५ वटा बैंकको घटेको देखिन्छ। कुल कर्जा रकमका आधारमा पर्यटन क्षेत्रमा सबैभन्दा धेरै कर्जा प्रवाह गर्ने बैंक नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ भने वृद्धिदरका हिसाबले सिटिजन्स बैंक अग्रस्थानमा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको मंसिरसम्म २२ अर्ब ७२ करोड ४२ लाख रुपैयाँ पर्यटन क्षेत्रमा कर्जा प्रवाह गरेको छ। यद्यपि, यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.९३ प्रतिशतले कम हो। अघिल्लो वर्ष मंसिरसम्म बैंकले २३ अर्ब ६५ करोड ३७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
पर्यटन क्षेत्रमा धेरै कर्जा प्रवाह गर्ने दोस्रो बैंकका रूपमा प्रभु बैंक रहेको छ। बैंकले मंसिरसम्म २२ अर्ब ४४ करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षको तुलनामा बैंकको पर्यटन क्षेत्रको कर्जा ७.५६ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष यस बैंकले २० अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
तेस्रो स्थानमा रहेको प्राइम कमर्सियल बैंक ले पर्यटन क्षेत्रमा कर्जा लगानी उल्लेख्य रूपमा बढाएको छ। अघिल्लो वर्ष १८ अर्ब ६० करोड ७० लाख रुपैयाँ रहेको कर्जा समीक्षा अवधिमा १४.०८ प्रतिशतले बढेर २१ अर्ब २२ करोड ६४ लाख रुपैयाँ पुगेको छ।
पर्यटन क्षेत्रमा सबैभन्दा कम कर्जा लगानी गर्ने बैंकका रूपमा स्ट्यान्डर्ड चार्टर्ड बैंक देखिएको छ। बैंकले मंसिरसम्म जम्मा ८० करोड ३९ लाख रुपैयाँ मात्रै कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३५.३१ प्रतिशतले कम हो।
यसैगरी, एनआईसी एसिया बैंक को पर्यटन क्षेत्रको कर्जा लगानीमा सबैभन्दा ठूलो संकुचन देखिएको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको कर्जा लगानी ५४.५३ प्रतिशतले घटेर २ अर्ब ६२ करोड ८८ लाख रुपैयाँमा सीमित भएको छ।
पर्यटन क्षेत्र विस्तारको सरकारी प्राथमिकता र बैंकिङ प्रणालीमा तरलता सुधारसँगै आगामी महिनामा यस क्षेत्रमा कर्जा प्रवाह अझै बढ्ने अपेक्षा गरिएको छ।