काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य आमोदप्रसाद उपाध्यायको निधनमा भोलि पुस १ गते पार्टीका केन्द्रदेखि वडा कार्यालय बन्द गर्ने भएको छ । केन्द्रीय कार्यसमितिको सोमबार बिहान बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।
बैठकले मङ्सिर २९, पुस १ र २ गते ९तीन दिनसम्म० पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
उपाध्यायको स्वर्गारोहणको १३ औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३ औँ दिनमा उपाध्यायको गृह जिल्ला मोरङमा शोक सभाको आयोजना गर्ने निर्णय पनि गरेको छ ।
कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं नेता आमोदप्रसाद उपाध्यायको काठमाडौंको ह्याम्स अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा मङ्सिर २७ गते शनिबार साँझ ९१ वर्षको उमेरमा निधन भएको थियो ।
२०४८ मा राष्ट्रियसभा सदस्यमा मनोनीत भएका उपाध्याय २०५६ मङ्सिर २३ गते सम्पन्न भएको उपनिर्वाचनमा मोरङ निर्वाचन १ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए । २०५६ मा शिक्षा तथा खेलकुद मन्त्री बनेका थिए भने २०६२/६३ को ऐतिहासिक जनआन्दोलन पश्चात् पुनर्स्थापित व्यवस्थापिका संसद्को सदस्य थिए ।