काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा अहिले देखापरेका हत्यारा र अराजकतावादी राजनीतिक प्रवृत्तिलाई जनताले कदापि स्वीकार नगर्ने बताउनुभएको छ।
उहाँले लोकतान्त्रिक प्रक्रियामार्फत जनताको अभिमत व्यक्त हुने निर्वाचनलाई अवरोध गर्न खोज्ने शक्तिहरूविरुद्ध दृढतापूर्वक उभिन कार्यकर्ताहरूलाई आह्वान गर्नुभयो।
शनिबार काठमाडौंमा आयोजित नेकपा दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीको चुनावी सन्देश सभालाई सम्बोधन गर्दै उहाँले इतिहासले अस्वीकार गरिसकेका र नेपाली जनक्रान्तिद्वारा किनारामा पुर्याइएका केही तत्वहरूले निर्वाचन हुन नदिने भ्रम फैलाइरहेको उल्लेख गर्नुभयो। “अझै पनि केही मानिसहरू चुनाव हुँदैन भन्दै हल्ला चलाइरहेका छन्,” उहाँले भन्नुभयो, “यो अत्यन्तै विचित्र र उद्देश्यपूर्ण प्रचार हो। यसखालको भ्रमको पछि नलागी सबै कार्यकर्ताहरू दृढतापूर्वक चुनावी तयारीमा जुट्नुपर्छ।”
उहाँले प्रतिगामी शक्तिहरूको चलखेल क्षणिक मात्र हुने दाबी गर्दै जनताको राजनीतिक चेतना माथि विश्वास व्यक्त गर्नुभयो। “इतिहासले फ्याँकिसकेका प्रवृत्तिहरू फेरि फर्केर आउने कल्पना मात्रै हो,” उहाँले बताउनुभयो, “जनताको बलिदान र संघर्षले स्थापित गरेको व्यवस्था उल्ट्याउन कसैले सक्दैन।”
उहाँले वर्तमान अवस्थामा देशमा तीनवटा राजनीतिक प्रवृत्तिहरू आमनेसामने भएको विश्लेषण गर्नुभयो। उहाँका अनुसार एउटा प्रवृत्ति शान्तिपूर्ण आन्दोलन गर्नेलाई टाउको ताकेर गोली हान्ने घातक सोच बोकेको छ भने अर्को प्रवृत्ति सिंहदरबार र राज्यका संरचनामाथि आक्रमण गर्दै देशलाई अस्थिरता र विध्वंसतर्फ धकेल्न खोजिरहेको छ। “यी दुवै हत्यारा र अराजकतावादी प्रवृत्तिका विरुद्ध नेकपा स्पष्ट रूपमा खडा भएको छ,” उहाँले भन्नुभयो, “यो चुनौतीपूर्ण घडीमा देशलाई जोगाउने ऐतिहासिक जिम्मेवारी हामीले लिएका छौं।”
निर्वाचनलाई उहाँले जनतामा जाने सहज र प्रभावकारी माध्यमका रूपमा चित्रण गर्नुभयो। “निर्वाचन भनेको जनतामा पुग्ने, जनतालाई संगठित गर्ने र आफ्नो विचार राख्ने लोकतान्त्रिक प्रक्रिया हो,” उहाँले भन्नुभयो, “देशभर हाम्रो प्रचार अभियान तीव्र गतिमा अघि बढिरहेको छ। अब बाँकी १२ दिन युद्धस्तरमा खट्न सके नेकपा देशको पहिलो शक्ति बन्न सक्छ।”
नयाँ राजनीतिक दलहरूप्रति संकेत गर्दै उहाँले क्षणिक लहरबाट भ्रमित नहुन आग्रह गर्नुभयो। “हावाहुरी केही दिन चलेजस्तो देखिए पनि सधैं चल्दैन,” उहाँले भन्नुभयो, “हुरी थामिन थालेको छ। जनताले स्थायित्व, एकता र स्पष्ट दिशा दिने शक्ति कुन हो भन्ने बुझिसकेका छन्।”
दोलखामा नेकपाका उम्मेदवार खड्काको जित स्थानीय मात्रै नभई राष्ट्रिय रूपमा पनि गर्व गर्नलायक उपलब्धि हुने उहाँको विश्वास छ। उहाँले कार्यकर्ताहरूलाई एकता, अनुशासन र उत्साहका साथ घरदैलो अभियानमा जुट्न निर्देशन दिँदै आगामी निर्वाचन परिणामले देशमा नयाँ राजनीतिक परिस्थिति निर्माण गर्ने दाबी गर्नुभयो।
सम्बोधनको अन्त्यमा उहाँले देशलाई अस्थिरता, हिंसा र अराजकताबाट जोगाउन जनताको निर्णायक भूमिका आवश्यक रहेको उल्लेख गर्दै भन्नुभयो, “हत्यारा र अराजकतावादी प्रवृत्तिलाई जनताले अस्वीकार गर्छन्। देशलाई सही दिशामा अघि बढाउने निर्णय जनताले नै गर्नेछन्, र नेकपा जनताको विश्वासको आधार बनेर उभिएको छ।”