×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

विश्व

इन्डोनेशियाले एक्स–एआईको ग्रोकमाथि लगायो प्रतिबन्ध 

इन्डोनेशियाले एक्स–एआईको ग्रोकमाथि लगायो प्रतिबन्ध 

काठमाडौं । इन्डोनेशियाले एलन मस्कको कम्पनी एक्स–एआईद्वारा विकसित एआई च्याटबोट ग्रोकमाथि प्रतिबन्ध लगाएको छ।

एआईमार्फत सिर्जना गरिएका यौन सामग्री तथा डीपफेक तस्वीरहरू फैलिएको भन्दै इन्डोनेशिया सरकारले यो कदम चालेको जनाएको छ। यससँगै इन्डोनेशिया ग्रोकमाथि प्रतिबन्ध लगाउने विश्वकै पहिलो देश बनेको छ।

इन्डोनेशियाका सञ्चार तथा डिजिटल मन्त्री मेउत्या हाफिदका अनुसार बिनाअनुमतिका रूपमा तयार गरिएका यौन डीपफेक सामग्रीले मानवअधिकार, व्यक्तिको प्रतिष्ठा र डिजिटल सुरक्षामाथि गम्भीर उल्लङ्घन गरेको निष्कर्ष निकाल्दै ग्रोकमाथि प्रतिबन्ध लगाइएको हो।

सरकारले यस विषयमा स्पष्टिकरणका लागि एक्स कम्पनीका अधिकारीहरूलाई समेत बोलाएको जनाएको छ।

स्मरण रहोस्, इन्डोनेशिया विश्वकै सबैभन्दा ठूलो मुस्लिम जनसंख्या भएको देश हो, जहाँ इन्टरनेटमा अश्लील सामग्री प्रसारणसम्बन्धी कडा कानुनी व्यवस्था लागू छ।

उता एक्सको एआई च्याटबोट ग्रोकका विषयमा युरोपदेखि एसियासम्मका विभिन्न देशहरूले चिन्ता व्यक्त गरिसकेका छन्। केही मुलुकका नियामक निकायहरूले एपमा उपलब्ध यौनिक तथा संवेदनशील सामग्रीबारे अनुसन्धानसमेत सुरु गरेका छन्।

यसैबीच, एक्स–एआईले ग्रोकमा रहेका सुरक्षा कमजोरीका कारण केही जवाफमा बालबालिकासँग सम्बन्धित यौन तथा आपत्तिजनक सामग्री देखा परेको स्वीकार गरेको छ। त्यसपछि कम्पनीले इमेज जेनरेशन र एडिटिङ फिचरलाई सशुल्क प्रयोगकर्तामा मात्र सीमित गरेको छ। साथै, यस्ता कमजोरी सुधार्ने प्रयास भइरहेको जनाएको छ।

त्यस्तै, एलन मस्कले एक्समा गरेको एक पोस्टमा ग्रोकलाई अवैध सामग्री उत्पादन गर्न प्रयोग गर्ने व्यक्तिलाई अवैध सामग्री अपलोड गर्ने व्यक्तिसरह नै सजाय हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
 


 

प्रतिकृया दिनुहोस्