काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भारत सरकारले ५३८ वटा गाडी दिने भएको छ। भारतले ५३८ गाडीमध्ये ३०० वटा गाडी प्रहरीलाई दिने निर्वाचन आयोगले जनाएको छ।
बाँकी २३८ वटा गाडी विभिन्न सरकारी निकायलाई दिन लागेको जनाइएको छ । २०७९ सालको निर्वाचनमा भारतले निर्वाचन आयोगलाई ८० वटा गाडी दिएको थियो।
आयोग स्रोतका अनुसार, भारतले यसै सातादेखि गाडी पठाउन थाल्ने छ ।माघको दोस्रो साता अर्थात् (जनवरी अन्तिम) सम्ममा सबै गाडी नेपाल भित्रने जानकारी प्राप्त भएको आयोगको भनाइ छ ।
भारतले दिनेमध्ये सय वटा गाडी विशेष प्रकारका हुने बताइएको छ। सोहि निर्वाचनका लागि युरोपेली मुलुकहरूले पनि संयुक्त राष्ट्रसंघीय निकाय मार्फत् सहयोग गर्ने जानकारी दिएका छन्।
त्यसै क्रममा जापानले सिधै आर्थिक सहायता गर्ने जनाएको छ। चुनावकै शीर्षकमा भन्दा पनि कुनै सहायताको शीर्षक परिवर्तन गरेर जापानले चुनावकालागि सहयोग गर्न लागेको अर्थ मन्त्रालयले जनाएको छ।
निर्वाचनका लागि अर्थ मन्त्रालयले चीन सरकारलाई पनि सहयोग माग गर्दै पत्र लेखेको थियो। तर, चीनका तर्फबाट कुनै पनि जबाफ प्राप्त नभएको जनाइएको छ।
सरकारले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगलाई ६ अर्ब ७४ करोड बजेट स्वीकृत गरेको छ। त्यस्तै नेपाल प्रहरीलाई ७ अर्ब १३ करोड, सशस्त्र प्रहरी बलका लागि ८० करोड ८४ लाख र अन्य शीर्षकमा २ अर्ब ४० करोड छुट्याएको छ।