भद्रपुर । चालु आर्थिक वर्ष २०८२र८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट ७ अर्ब ८४ करोड ४० लाख २३ हजार रुपैयाँ मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आव २०८१÷८२ को सोही अवधिको तुलनामा २३ करोड ५२ लाख ७० हजार रुपैयाँ अर्थात् ३.१० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व २.५० प्रतिशत अर्थात् ९ करोड ४२ लाख ९५ हजार रुपैयाँले बढेको सूचना अधिकारी हुमागाईँले जानकारी दिए।
कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पाँच महिनामा पेट्रोलियम पदार्थ आयातबाट ३ अर्ब ८० करोड ५८ लाख ६४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा ३ अर्ब ८२ करोड ७० लाख रुपैयाँ मूल्यका ४३ हजार १६० किलोलिटर पेट्रोल आयात भएको थियो । त्यसैगरी, २ अर्ब ५३ करोड १६ लाख रुपैयाँ मूल्यका २६ हजार १२० किलोलिटर डिजेल आयात भएको छ ।
त्यसैगरी, उक्त पाँच महिनामा १ अर्ब १ करोड ६० लाख रुपैयाँ मूल्यका १० हजार ४८० मेट्रिक टन एलपी ग्यास, ३२ करोड ८२ लाख रुपैयाँको तीन हजार ५८० किलोलिटर एटीएफ र ६ करोड ३१ लाख रुपैयाँका ६८० किलोलिटर मट्टितेल आयात भएको छ ।