×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोग संशोधन गर्न स्वीकृति

लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोग संशोधन गर्न स्वीकृति

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्तासम्बन्धी प्रक्रिया अघि बढाउन स्वीकृति दिएको छ । 

कार्यालयले आज विभिन्न अदालतमा रहेका उक्त मुद्दासम्बन्धी अभियोग संशोधन गर्न स्वीकृति दिएको हो । “रवि लामिछाने प्रतिवादी भएको मुद्दाहरूमा समेत लगाइएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग कास्की, काठमाडौँ, रुपन्देही र पर्सा जिल्ला अदालतमा चितवन जिल्ला अदालतमा भए सरह ठगी तथा सहकारी ठगीमा गरिएको अभियोग कायम गरी सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग दाबी निजको हकमा कायम नरहने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम अभियोग संशोधन हुनेगरी स्वीकृति दिने निर्णय गरिएको छ”, महान्यायाधिवक्ता सविता भण्डारीद्वारा प्रमाणित टिप्पणीमा उल्लेख छ ।
 
महान्यायाधिवक्ता कार्यालयको स्वीकृतिसँगै अब जिल्ला सरकारी वकिलको कार्यालय कास्की, रुपन्देही, काठमाडौँ र पर्साबाट आवश्यक कारबाही अघि बढ्नेछन् ।

लामिछानेले आजै सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्मको मुद्दा फिर्ता लिन महान्यायाधिवक्तासमक्ष निवेदन दिएका थिए। 
 

प्रतिकृया दिनुहोस्