×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

बैंक/वित्त

एसबीआई बैंक लुटपाट : ३ करोड ११ लाखमध्ये १ करोड ८० लाख बरामद

एसबीआई बैंक लुटपाट : ३ करोड ११ लाखमध्ये १ करोड ८० लाख बरामद

काठमाडौं । नेपाल एसबीआई बैंकको घ्याङलेख–२, बस्तीपुरस्थित हायुटार शाखामा मंगलबार राति भएको लुटपाटमा लुटिएको रकममध्ये १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ प्रहरीले स्थानीयको सहयोगमा विभिन्न स्थानबाट बरामद गरेको छ।

लुटपाटपछि भाग्ने क्रममा स्थानीयको होहल्ला भएपछि लुटेराहरूले केही रकम भएको बोरा छाडेर भागेका थिए। त्यसपछि गरिएको खोजतलासका क्रममा घटनास्थलबाट २–३ किलोमिटरको क्षेत्रभित्र थप रकम फेला परेको प्रहरीले जनाएको छ।

५–६ जनाको समूहले बैंकबाट ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। मंगलबार राति करिब ८:४० बजे बैंकमा प्रवेश गरेका लुटेराहरूले सुरक्षा गार्ड रुद्रबहादुर कार्कीलाई नियन्त्रणमा लिई खुकुरी प्रहार गरी घाइते बनाएका थिए। त्यसपछि बैंकका अन्य कर्मचारीलाई समेत नियन्त्रणमा लिएर रकम लुटपाट गरिएको हो।

लुटपाटमा प्रयोग गरिएको काभ्रेको बनेपाबाट रिजर्भ गरिएको बा.डि. ०३९८ नम्बरको टाढा सुमो जीप र त्यसका चालक भवत सिंह थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। केटी भगाउनुपर्ने बहानामा सुमो रिजर्भ गरिएको खुलेको छ।

घटनामा संलग्न लुटेराहरूको खोजी तथा घटनासम्बन्धी अनुसन्धान कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्