काठमाडौं । माघे संक्रान्ति नजिकिँदै जाँदा कालीमाटी तरकारी बजारमा तरुल र सखरखण्डको व्यापार उल्लेख्य रूपमा बढेको छ। चाकुसँगै तरुल र सखरखण्ड माघे संक्रान्तिका प्रमुख परिकार मानिने भएकाले यस समयमा यसको माग ह्वात्तै बढ्ने गरेको छ।
माघे संक्रान्तिमा तरुल, सखरखण्ड र पिँडालुजस्ता ‘कन्दमूल’ खाने धार्मिक तथा सांस्कृतिक परम्परा रहँदै आएको छ। पुस मसान्तमा तरुल पकाएर माघ १ गते खाने चलनका कारण हाल बजारमा यसको माग अत्यधिक बढेको हो। बढ्दो मागलाई धान्न धादिङ, नुवाकोट, सर्लाही, चितवन र नवलपरासी लगायतका जिल्लाबाट ठूलो परिमाणमा तरुल र सखरखण्ड काठमाडौं भित्रिन थालेका छन्।
पुस महिनाको सुरुवाती दिनहरूमा यी वस्तुको आगमन सामान्य रहे पनि पुस २५ र २६ गतेपछि आयातमा अस्वाभाविक वृद्धि देखिएको छ। समितिको तथ्यांकअनुसार साउनदेखि मङ्सिरको अन्त्यसम्म तरुलको दैनिक औसत आयात १० हजारदेखि २० हजार किलोसम्म सीमित थियो। तर पुसको अन्तिम साता आइपुग्दा यो परिमाण एकाएक बढेर दैनिक १ लाख ५० हजार किलो पुगेको छ, जुन सामान्य समयको तुलनामा झण्डै १० गुणा बढी हो।
सखरखण्डको आपूर्तिमा पनि उस्तै प्रकृतिको वृद्धि देखिएको छ। मङ्सिरसम्म दैनिक ५ देखि १० हजार किलो मात्र भित्रिने सखरखण्ड पुसको अन्तिम साता करिब ७० हजार किलो पुगेको छ। कार्तिक महिनामा ५० हजार किलोको सानो वृद्धि देखिए पनि पुसको यो आपूर्तिले चालू आर्थिक वर्षकै सबै रेकर्ड तोडेको छ।
यति ठूलो परिमाणमा आयात भए पनि अत्यधिक मागका कारण मूल्य भने घट्न सकेको छैन। हाल कालीमाटी बजारमा घर तरुल प्रतिकेजी ८० देखि १०० रुपैयाँमा, वन तरुल प्रतिकेजी २०० देखि २५० रुपैयाँमा बिक्री भइरहेको छ, जुन सबैभन्दा महँगो र खोजी हुने तरुल हो। त्यस्तै पन्जे र हात्तीपाइले तरुल प्रतिकेजी ९० देखि १२० रुपैयाँ तथा सखरखण्ड प्रतिकेजी ७० देखि ९० रुपैयाँमा कारोबार भइरहेको छ।