काठमाडौं । ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नेशनल लघुवित्त वित्तीय संस्था, एनएलजी इन्स्योरेन्स कम्पनी र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले भोली अर्थात पुस २२ गते, बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
एनएलजी इन्स्योले आफ्नो २० औँ वार्षिक साधारणसभा यही पुस ३० गते काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओक ब्यांक्वेट एन्ड इभेन्ट्स सेन्टरमा दिउँसो साढे १ बजेबाट गर्दैछ। सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब ५६ करोड ५२ लाख २४ हजार ४३२ रुपैयाँको कुल ७.३६८४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४ प्रतिशतले हुन आउने १० करोड २६ लाख ८ हजार ९७८ रुपैयाँबराबरको बोनस शेयर र ३ प्रतिशतले हुन आउने ७ करोड ६९ लाख ५६ हजार ७३३ रुपैयाँबराबरको नगद लाभांश छन्। यी दुवै लाभांशका लागि कर प्रयोजनार्थ कम्पनीले ०.३६८४ प्रतिशतले हुन आउने ९४ लाख ५० हजार ८२७ रुपैयाँ छुट्याएको छ।
यसैगरी नेसनल माइक्रोफाइनान्सले आफ्नो १२ औँ वार्षिक साधारणसभा यही पुस ३० गते काभ्रेको बनेपास्थित अरनिको पार्टी प्यालेसमा बिहान ११ बजेबाट गर्दैछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश छन्।
विन्ध्यावासिनी हाइड्रोपावरले पनि आफ्नो नवौँ वार्षिक साधारणसभा यही पुस ३० गते काठमाडौंको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा बिहान १० बजेबाट गर्दैछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ। सोही सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।