काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०२६ सुरु भएको छ। येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो। नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन्।
इस्वी सम्वतको नयाँ वर्षको दिनलाई नेपालीहरुले राष्ट्रिय पोशाक दिवस र नेपाली टोपी दिवसको रुपमा मनाउने गरेका छन् ।
विश्वव्यापीकरणको प्रभावले अंग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढिरहेको भन्दै ०७० सालदेखि केही युवाहरुले नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि यो दिवस मनाउन सुरु गरेका थिए ।
यही क्रममा विहीबार बिहान पनि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भेला भएर युवाहरुले नेपाली राष्ट्रिय पोशाक लगाएर प्रदर्शन गर्दैछन् ।
स्वतन्त्र राष्ट्रप्रेमी अभियान नेपाल, जागरुक युवा अभियान नेपाल, गुन्यूचोली राष्ट्रिय जागरण नेपाललगायतका संस्थाहरुले संयुक्त रुपमा दिवसको कार्यक्रम आयोजना गरेका छन् ।
राष्ट्रिय पोशाक दौरा सुरुवाल र ढाका टोपीमा सजिएका सहभागीहरुले ढाका टोपीलाई पहिचान दिन माग गर्दै राष्ट्रिय पोशाकको संरक्षण गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।
पछिल्लो समय नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ। नयाँ वर्ष २०२६ का अवसरमा विदेशीको बढी उपस्थिति हुने काठमाडौँको ठमेल, बौद्ध तथा उपत्यका बाहिरका पोखरा, सौराहालगायत स्थानमा विभिन्न कार्यक्रम आयोजना गरी नयाँ वर्षको स्वागत भइरहेको छ।