काठमाडौँ । दसैँका लागि सुकिला नोटको वितरण आजदेखि सुरु हुँदै छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म यस्तो नोटको सटही व्यवस्था मिलाएको हो । बैंकको केन्द्रीय कार्यालय बालुवाटार, उपत्यका बाहिरका सबै शाखा कार्यालयका सहटी केन्द्रहरू तथा बैंक तथा वित्तीय संस्थाका मुख्य मुख्य शाखाहरूबाट नोट सटहीको गरिनेछ ।
बैंकका प्रवक्ता रामु पौडेलले यसका लागि सम्बन्धित संस्था तथा शाखा कार्यालयलाई निर्देशन दिइसकेको र आवश्यक नोट उपलब्ध समेत गराएको बताए । ुसर्वसाधारणलाई चाहिनेजति नोट सटही गर्न सक्ने व्यवस्था गरेका छौँ, प्रवक्ता पौडेलले भने, बैंकहरु आफैँसँग पनि त्यस्तो नोट छ, नपुगेको नोट राष्ट्र बैंकले उपलब्ध गराउँछ ।
सरकारले यसअघि नयाँ नोट वितरण गर्दै आएको थियो । यस्तो नोट छपाइ गरेर ल्याएपछि पहिलोपल्ट ढुकुटीबाट निकालिन्थ्यो र सटही गरिन्थ्यो । नयाँ नोट पाएकाहरू सम्बन्धित नोटको पहिलो प्रयोगकर्ता हुन्थे । त्यसरी प्राप्त गर्ने नोटको नम्बर समेत क्रमवद्ध हुन्थ्यो ।
आजदेखि सटही हुने नोट भने कम्तीमा एकपटक बजारमा पुगेर फर्किसकेको हुनेछ । प्रवक्ता पौडेल अनुसार देख्दा यी नोटहरू पनि नयाँ हुने बताउँछन् । सामान्यतया एकपटक प्रयोग भएर आएको पैसालाई सटही गर्ने उनको भनाइ छ । प्रयोग भइसकेकोले सामान्यतया नोटको नम्बरमा क्रम पनि मिल्दैनन् ।