काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन् । गोरखा २ बाट उम्मेदवार भएका उनले आज आफूनिकटका केही नेताहरूसँग छलफल गरेर उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् ।
उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी, रास्वपाका उपसभापति स्वर्णिम वाग्लेसहितले अभिभावक बनेर सहजीकरण गरिदिन आग्रह गरेपछि फिर्ता लिने निर्णय भएको जनाइएको छ ।
गोरखा २ बाट भट्टराई यसअघि निर्वाचित भइसकेका उम्मेदवार हुन् । ०७९ निर्वाचनमा भने भट्टराईले प्रचण्डलाई सहयोग गरेर आफू अब उम्मेदवारी नदिने बताउँदै आएका थिए । यसपटक पनि उनी चुनाव नलड्ने बताउँदै आएका थिए तर मनोनयनको दुई दिनअघि मात्रै निर्णय गरेर गोरखा पुगेका थिए ।
उनले उम्मेदवारी फिर्ता लिएर कसलाई समर्थन गर्ने भन्नेबारे भने खुलाएका छैनन् । गोरखा २ मा कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपा एमालेका मिलन गुरुङ (मिलन चक्रे), नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार डा बाबुराम भट्टराई, रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीलगायत उम्मेदवार छन् ।