वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३ खर्ब ५९ अर्ब २३ करोड रुपैयाँ मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् ।
गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा १७ प्रतिशत अर्थात् ५३ अर्ब ३२ करोड रुपैयाँ बढी मूल्यका सामान आयात भएको हो । जबकि गत आवको पाँच महिनामा भने ३ खर्ब ६ अर्ब १ करोड रुपैयाँ मूल्यबराबरका सामान भित्रिएको थियो ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको पाँच महिनामा आयात वृद्धि भएसँगै राजस्व सङ्कलन पनि उल्लेखनीय वृद्धि भएको बताउनुभयो । चालु आवको पाँच महिनामा ७२ अर्ब २८ करोड रुपैयाँको पेट्रोलियम पदार्थ भित्रिएको छ । त्यसैगरी, ३१ अर्ब ६५ करोड रुपैयाँको फलाम तथा फलामबाट बनेका सामान भित्रिएका छन् ।
२४ अर्ब ६० करोड रुपैयाँ मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएका छन् भने २२ अर्ब ८५ करोड रुपैयाँ मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको छ ।