काठमाडौं । नबिल बैंकले त्रिशूली जलविद्युत् कम्पनीका ‘काउन्टर ग्यारेन्टी’ बापत १ अर्ब ८ करोड रुपैयाँ फिर्ता पाएको छ ।
चीनको चाइना एभरब्राइट बैंक लिमिटेडले जारी गरेको काउन्टर ग्यारेन्टी बापत रकम भुक्तानी दिन अदालतले आदेश दिएपछि नबिल बैंकले पाएको हो ।
त्रिशूली थ्री–बी परियोजनाको निर्माण ठेक्का चिनियाँ कम्पनी सुइफा एएनएचई ग्रुपले पाएको थियो । नेपाल विद्युत् प्राधिकरणको ३० प्रतिशत र नेपाल टेलिकमको ३० प्रतिशत सेयर सहित स्थापना भएको त्रिशूली जलविद्युत् कम्पनीले आयोजना निर्माण तीन वर्षमा सक्ने गरी सुइफासँग ३० फागुन २०७४ मा ठेक्का सम्झौता गरेको थियो ।
सम्झौताअनुसार २०७७ फागुन २९ गतेसम्म निर्माण सम्पन्न हुनुपर्ने भए पनि ठेकेदारले विभिन्न कारण देखाउँदै काम नगरेपछि कम्पनीले २०८० मंसिर ३० गते ठेक्का सम्झौता रद्द गर्दै बैंक ग्यारेन्टी जफत गरेको थियो।
आयोजनाका लागि नबिल बैंकले विदेशी मुद्रामा एड्भान्स तथा पर्फर्मेन्स ग्यारेन्टी दिएको थियो भने नेपाली मुद्रामा लक्ष्मी सनराइज बैंकले बैंक ग्यारेन्टी जारी गरेको थियो।
ठेक्का रद्द भएपछि लक्ष्मी सनराइज बैंकले आफ्नो ग्यारेन्टी रकम एक साताभित्रै भुक्तानी गरे पनि चिनियाँ बैंक चाइना एभरब्राइटले काउन्टर ग्यारेन्टीको रकम दिन मानेको थिएन।
काउन्टर ग्यारेन्टी भुक्तानी रोक्न ठेकेदार कम्पनीले चीनको अदालतबाट अन्तरिम आदेश लिएको थियो, जसका कारण मुद्दा लम्बिएको थियो।
अन्तिम फैसलामा नबिल बैंकको पक्षमा आदेश आएपछि बैंकले उक्त रकम प्राप्त गरेको जनाएको छ।