काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। गत साताको अन्तिम दुई कारोबार दिन सामान्य अंक बढेर बन्द भएको बजार यस दिन भने उच्च अंक बढेर बन्द भएको हो।
आइतबार नेप्से परिसूचक ४७.५५ अंक बढेर २ हजार ६ सय ३३ दशमलव ४२ विन्दुमा पुगेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बुधबार ३ अर्ब २२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२८ स्टकका ८९ हजार २५१ पटकको कारोबारमा ५ अर्ब ५३ करोड १३ लाख ७० हजार रुपैयाँबराबरको १ करोड ३४ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २।७० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा यस दिन यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २७ करोड ६० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन मञ्जुश्री फाइनान्सको करिब साढे २४ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने सिनर्जी पावर डेभलपमेन्टको कारोबार रकम साढे २२ करोड रुपैयाँ नाघेको छ।
यस दिन मिड सोलु हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.४९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ भने अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ।