×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

सुमन सायमी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

सुमन सायमी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर)का संयोजक सुमन सायमी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्। बुधवार काठमाडाैंमा एक कार्यक्रमका बीच नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनीहरू बीच सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ । सहमति पत्रमा नेकपामा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालका सायमीले हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा गैरन्यायिक रूपमा लागू गरिएका सडक तथा खोला मापदण्डका कारण भएको व्यापक विस्थापन, सहकारी क्षेत्रमा व्याप्त संगठित भ्रष्टाचार तथा त्यसबाट पीडित आम नागरिकका मौलिक अधिकार हननप्रति गम्भीर चिन्तित र सचेत रहेको उल्लेख छ ।

गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति, सहकारी पीडित संघर्ष समिति, पहिचान पक्षधर आन्दोलन, गुठी आन्दोलनलगायत न्याय, अधिकार र पहिचानका पक्षमा उठेका जनआन्दोलनहरूको मर्म, भावना र मागलाई आत्मसात् गर्दै यी दुई पार्टी एक भएका छन् ।

पहिचान सहितको संघीय समाजवादी गणतन्त्रलाई संस्थागत गर्ने साझा संकल्पका साथ नेपाली कम्युनिष्ट पार्टीको नीति, कार्यक्रम तथा कार्यदिशाप्रति सहमत हुने र यही पार्टीको नाम र चुनाव चिह्न तारा रहने गरी एकता भएको छ ।

सुमन सायमी २०७९ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेका थिए । त्यसबेला १३ हजार ७७० मत पाए । चुनावपछि उनी स्वतन्त्र अभियानमा सक्रिय भए । स्वतन्त्र तथा वैकल्पिक शक्तिलाई एकीकृत गर्ने प्रयासमा लागे ।

२०७९ को प्रतिनिधिसभा सदस्यको निर्वाचन पनि लडे । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विराजभक्त श्रेष्ठसँग पराजित भए । गत प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उनले ६ हजार १७९ मत पाएका थिए ।

पछिल्लो समयमा सायमी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा जोडिएका थिए । राष्ट्रिय मुक्ति पार्टीमा वरिष्ठ उपाध्यक्ष थिए ।

आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवार हुन लागेका सायमी नेपाली कम्युनिस्ट पार्टीबाट अगाडि बढ्न खोजेका हुन् ।

५२ वर्षीय सायमी काठमाडौं कालीमाटीका हुन् । उनी काठमाडौंका रैथानेमाझ चर्चित छन् ।


 

प्रतिकृया दिनुहोस्