काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिउबिजन, बालीवस्तु र कृषि उपजको नयाँ बिक्री मूल्य तोकेको छ । मन्त्रालयले धान, मकै, गहुँ, दलहन तथा तेलहन बालीका लागि नयाँ दर स्वीकृत गरिएको हो ।
नयाँ मूल्यसूची अनुसार बिउबिजनतर्फ उन्नत जातको हाइब्रिड मकैको बिउ सबैभन्दा महँगो प्रतिकिलो ३ सय रुपैयाँ तोकिएको छ । यसैगरी हाइब्रिड धानको बिउको मूल्य प्रतिकिलो २ सय रुपैयाँ निर्धारण गरिएको छ ।
प्रमाणित मोटा धानको बिउ र खुला मकैको बिउ दुवैको मूल्य प्रतिकिलो ६५ रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै बास्नादार धानको बिउको मूल्य किलोको १ सय ५ रुपैयाँ र प्रमाणित बास्नादार धानको बिउ १ सय रुपैयाँ तोकिएको छ । मोटा-मध्यम धानको मूल बिउ ७१ रुपैयाँ र प्रमाणित बिउ ६५ निर्धारण भएको छ । गहुँको मूल बिउ प्रतिकिलो ८० र प्रमाणित बिउ ७५ रुपैयाँ तोकिएको छ ।
मन्त्रालयले दलहन र तेलहनतर्फका बिउबिजनको मूल्य पनि तोकेको छ । मुसुरोको मूल बिउ प्रतिकिलो १ सय ६० रुपैयाँ र तोरीको मूल बिउ १ सय ७० कायम गरिएको छ । प्रमाणित मुसुरो बिउ १ सय ४० रुपैयाँ र प्रमाणित तोरीको बिउ १ सय ५० मा उपलब्ध हुनेछ ।
त्यस्तै हरियो मलका रूपमा प्रयोग गरिने ढैँचाको बिउको मूल्य भने प्रतिकिलो १ सय २० रुपैयाँ तोकिएको छ ।
बिउका लागि अयोग्य ठहरिएका खाद्यान्नको मूल्य पनि सरकारले निर्धारण गरेको छ । गहुँको मूल्य प्रतिकिलो ३८ रुपैयाँ ६७ पैसा, मोटा धानको ३४ रुपैयाँ ६३ पैसा, मध्यम र मसिनो धानको ३६ रुपैयाँ २८ पैसा र मकैको मूल्य ३५ रुपैयाँ कायम गरिएको छ ।
मुसुरोको मूल्य प्रतिकिलो ९० रुपैयाँ र तोरीको ८० रुपैयाँ तोकिएको छ । बिउ प्रशोधन गर्दा निस्कने टुक्रिएको धानको मूल्य १८ रुपैयाँ र टुक्रिएको गहुँको मूल्य २० रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी कृषि सहउत्पादन अन्तर्गत धानको परालको मूल्य प्रतिकिलो २ रुपैयाँ तोकिएको छ ।