×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

विश्व

स्विट्जरल्याण्डको रिसोर्टमा आगलागी :  मृतकको संख्या ४० पुग्यो

स्विट्जरल्याण्डको रिसोर्टमा आगलागी :  मृतकको संख्या ४० पुग्यो

काठमाडौं । स्विट्जरल्यान्डको एक स्की रिसोर्टमा रहेको बारमा आगो लाग्दा मृत्यु हुनेको संख्या ४० पुगेको छ । ११५ जना घाइते छन् । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको जनाइएको छ । 

नयाँ वर्षको उत्सव चलिरहेका बेला स्थानीय समय अनुसार बिहीबार बिहान करिब १स्३० बजे क्रान्स–मोन्टानास्थित ली कन्स्टेलिसन नामको बारमा आगलागी भएको थियो ।

भालिस क्षेत्रको उक्त पर्यटकीय स्थलमा आगो निभाउन रातभर १३ वटा हेलिकप्टर, ४२ वटा एम्बुलेन्स र १५० आपतकालीन उद्धारकर्मी खटाइएका थिए ।

मृतक र घाइतेको ठ्याक्कै संख्या अझै पनि यकिन हुनसकिरहेको छैन । यद्यपि कम्तीमा ४० जनाको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

धेरै व्यक्तिहरु आगोमा जलेर घाइते भएका छन् । भालिसको सियोन अस्पतालमा मात्रै ६० जनालाई भर्ना गरिएको छ । केही घाइतेलाई विशेष बर्न्स युनिट भएका स्विट्जरल्यान्डका अन्य शहरहरू, लोजान र ज्युरिखका अस्पतालमा पनि पठाइएको छ ।

लोजान युनिभर्सिटी अस्पतालमा २२ जना जलेका बिरामीको उपचार भइरहेको छ भने ज्युरिख युनिभर्सिटी अस्पतालले १२ जनाको उपचार गरिरहेको जनाएको छ । केहीको उपचार जेनेभा युनिभर्सिटी अस्पताल पनि भइरहेको छ ।

आगलागीमा परी विभिन्न देशका नागरिक प्रभावित भएका छन् । अधिकारीहरुले मृतक पहिचान र घाइतेको उपचार गरी आफन्तलाई जिम्मा लगाउने काम पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।

मृतक र घाइतेको पहिचान गर्न अझै लामो समय लाग्न सक्ने बताइएको छ । पीडित परिवारहरुसँग सहजीकरणका लागि हेल्पलाइन नम्बर ं४१ ८४८ ११२ ११७ खुला गरिएको छ ।

इटालीको विदेश मन्त्रालयले १६ जना इटालियन नागरिक बेपत्ता रहेको र १२ देखि १५ जनाले अस्पतालमा उपचार गराइरहेको जनाएको छ ।

फ्रान्सको विदेश मन्त्रालयले आठ जना फ्रान्सेली नागरिक बेपत्ता रहेको र मृतकमध्ये फ्रान्सेली पनि हुनसक्ने सम्भावना नकार्न नसकिने बताएको छ । 
 

प्रतिकृया दिनुहोस्