काठमाडौं । आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि आज मनोनयन दर्ता सम्पन्न भएको छ। यसपटकको निर्वाचनमा उद्योग, व्यवसाय, बैंकिङ, पर्यटन, निर्माण, यातायात तथा वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको उल्लेख्य सहभागिता देखिएको छ।
विभिन्न राजनीतिक दलहरूले आर्थिक क्षेत्रका स्थापित उद्योगी–व्यवसायीलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएका छन्। उनीहरूको व्यवसायिक अनुभवले संसदमा आर्थिक नीति निर्माणलाई व्यवहारिक बनाउने अपेक्षा गरिएको छ।
नेपाली कांग्रेसले फोब्स सूचीमा सूचीकृत नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीलाई नवलपरासी (पश्चिम) क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको छ। यसैगरी, रसुवाबाट इन्जिनियर पृष्ठभूमिका मोहन आचार्य, रुपन्देही–२ बाट चुन्नप्रसाद पौडेल, गुल्मी–२ बाट भुवन श्रेष्ठ, डोल्पाबाट निर्माण व्यवसायी कर्णबहादुर बुढा उम्मेदवार बनेका छन्।
कांग्रेसले स्याङजा–१ बाट मुक्तिनाथ विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल, मुस्ताङबाट पर्यटन तथा होटल व्यवसायी योगेश गौचन, सोलुखुम्बुबाट पर्यटन व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का केन्द्रीय सदस्य प्रकाश सिंह कार्कीलाई उम्मेदवार बनाएको छ। कास्की–१ बाट वैदेशिक रोजगार व्यवसायी तिलक रानाभाट, झापा–१ बाट एफएनसीसीआईका पूर्व केन्द्रीय सदस्य केशव पाण्डे, झापा–३ बाट अलैची व्यवसायी राजेन्द्र घिमिरे, कैलाली–२ बाट यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँर तथा मोरङबाट मेडिकल व्यवसायी सुनिल शर्मा पनि कांग्रेसका उम्मेदवार हुन्।
नेकपा (एमाले) ले कपिलवस्तु–३ बाट चिनी उद्योग व्यवसायी वीरेन्द्र कनौडिया, झापा–१ बाट दुग्ध व्यवसायी रामचन्द्र उप्रेती, झापा–४ बाट वैदेशिक रोजगार व्यवसायी एलपी साँवा, मोरङ–२ बाट उद्योगपति दिलिप अग्रवाल, मोरङ–५ बाट मनोज अग्रवाललाई उम्मेदवार बनाएको छ। यस्तै धनुषा–२ बाट उमाशंकर अर्घरिया, बारा–४ बाट उद्योग व्यवसायी कृष्णकुमार श्रेष्ठ, नवलपुर–१ बाट उद्योग व्यवसायी महासंघका अध्यक्ष भगिरथ सापकोटा उम्मेदवार बनेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं–२ बाट सुनिल केसी, काठमाडौं–९ बाट वैदेशिक रोजगार व्यवसायी डीपी अर्याल, चितवन–१ बाट शेयर कारोबारी हरि ढकाल, रुपन्देही–३ बाट लेखजंग थापा, दाङ–२ बाट बिपिन आचार्य तथा भक्तपुर–१ बाट नेपाल उद्योग वाणिज्य महासंघका महासचिव रुकेश रञ्जितलाई उम्मेदवार बनाएको छ।
त्यस्तै, जनमत पार्टीले सिरहा–४ बाट बैंकिङ, जलविद्युत् तथा शिक्षा क्षेत्रमा लगानीकर्ता तथा माछापुच्छ्रे बैंकका पूर्व अध्यक्ष वीरेन्द्रप्रसाद महतोको उम्मेदवारी दर्ता गराएको छ।
उद्योगी–व्यवसायीहरू विगतदेखि नै कर प्रणालीको जटिलता, लगानीमैत्री वातावरणको अभाव, वैदेशिक रोजगार व्यवस्थापन, निर्माण तथा यातायात क्षेत्रका समस्या समाधानको पक्षमा आवाज उठाउँदै आएका थिए। उनीहरूको प्रत्यक्ष राजनीतिक सहभागिताले यी विषयहरू अब संसदमा प्राथमिकताका साथ उठ्ने विश्वास गरिएको छ।
विशेषज्ञहरूका अनुसार व्यवसायिक अनुभव भएका प्रतिनिधिहरूको उपस्थितिले नीति निर्माणमा व्यावहारिकता थप्ने सम्भावना छ। उद्योगी–व्यवसायीहरूको प्रत्यक्ष राजनीतिक प्रवेशले यसपटकको निर्वाचनलाई अझ प्रतिस्पर्धात्मक र चासोपूर्ण बनाएको छ।
अब प्रश्न यति मात्र बाँकी छ—व्यवसायिक सफलताले राजनीतिक नेतृत्वमा कस्तो प्रभाव पार्नेछ र आर्थिक क्षेत्रका यी उम्मेदवारहरूले संसदमा कस्तो भूमिका निर्वाह गर्नेछन्?