काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले १ अर्ब १ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५।२५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८० करोड ७३ रुपैयाँ खुद नाफा कमाएको थियो।
त्यसैगरी गत आवको दोश्रो त्रैमाससम्म बैंकले २ अर्ब ८२ करोड ३६ लाख ७० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा ४.१६ प्रतिशतको वृद्धि सहित २ अर्ब ९४ करोड १० लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।
त्यस्तै समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ३ अर्ब ६९ करोड ९९ लाख ४१ हजार रुपैयाँबाट बढेर ४ अर्ब २ करोड ६९ लाख ९१ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १ अर्ब ६२ करोड २७ लाख ९७ हजार रुपैयाँबाट घटेर १ अर्ब ४५ करोड ६८ लाख ९१ हजार रुपैयाँमा झरेको छ।
यद्यपि बैंकको प्रतिशेयर आम्दानी गत आवको पुस मसान्तसम्म १३.३६ रुपैयाँ रहेकोमा चालू आवको पुस मसान्तसम्म बढेर १६.७३ रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा (एनपीएल) ४.५४ प्रतिशतबाट ४.२५ प्रतिशतमा झरेको छ भने प्रतिशेयर नेटवर्थ १६१.६ रुपैयाँ कायम भएको छ।
चुक्ता पूँजी १२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ रहेको यस बैंकको शेयर प्रिमियम ३ करोड ८ लाख रुपैयाँ, जगेडा कोषमा ४३ करोड ६३ लाख रुपैयाँ र रिजर्भ कोषमा ६ अर्ब ९८ करोड १८ लाख रुपैयाँ सञ्चिति रहेको छ। बैंकले १ खर्ब ५४ अर्ब ९५ लाख रुपैयाँ कर्जा प्रवाह गरी २ खर्ब ४ अर्ब ४ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।