काठमाडौं । सरकारलाई तिर्नुपर्ने बाँकी बक्यौता लामो समयसम्म नबुझाउने व्यक्ति तथा संस्थाहरूको नाम सार्वजनिक भएको छ । कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयले सार्वजनिक सूचना जारी गर्दै कार्यालयले ५२ जना व्यक्ति तथा फर्महरूको तीनपुस्ते विवरणसहितको नामावली सार्वजनिक गरेको हो ।
यसअघि पटक–पटक पत्राचार गर्दा र कार्यालयको वेबसाइटमार्फत जानकारी गराउँदा पनि बक्यौता बुझाउन नआएपछि सरकारले अन्तिम पटकका लागि यो सार्वजनिक सूचना जारी गरेको जनाएको छ । सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र साँवा र नियमअनुसार लाग्ने ब्याजसहित सम्पूर्ण रकम चुक्ता गर्न कार्यालयले ताकेता गरेको छ ।
निर्धारित ३५ दिनको अवधिभित्र पनि रकम राफसाफ नगरेमा प्रचलित कानुनबमोजिम यी व्यक्तिहरूको चलअचल सम्पत्तिबाट सरकारी बाँकी असुल उपर गरिने सूचनामा उल्लेख छ । यस प्रक्रियामा ऋणीहरूको जायजेथा दाबी गरी सरकारी रकम असुल गर्दा उनीहरूलाई हुन सक्ने आर्थिक वा सामाजिक हानिनोक्सानीप्रति कार्यालय जिम्मेवार नहुने समेत स्पष्ट पारिएको छ ।
सरकारले सार्वजनिक गरेको ५२ जनाको सूचीमा निर्माण व्यवसायी, व्यापारिक फर्म, विभिन्न सरकारी विभागका कर्मचारी र वैदेशिक कम्पनीहरू समेत रहेका छन् ।
निर्माण व्यवसायीहरू खुम्बु कन्स्ट्रक्सन, लोकप्रिय निर्माण सेवा, एम.एम. कन्स्ट्रक्सन कम्पनी, निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको महादेव खिम्ती निर्माण सेवा लगायतका दर्जनौं निर्माण कम्पनीहरू सूचीमा छन् । यसैगरी अमेरिकाको टेक्सना रिसोर्सेस कम्पनी, युएईको एमिरेट्स एसोसिएटेड बिजनेस ग्रुप र बीबीबी च्याम्पियन्स आयल कम्पनी जस्ता विदेशी कम्पनीहरूले पनि सरकारी रकम नबुझाएको देखिएको छ।
