काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार सामान्य अंक घटेर बन्द भएको नेप्से, यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो।
मंगलबार नेप्से परिसूचक ४.९० अंक बढेर २ हजार ६ सय ३९ दशमलव ९१ विन्दुमा पुगेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। सोमबार ६ अर्ब ४७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४९ स्टकको ७७ हजार १७ पटकको कारोबारमा ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार रुपैयाँबराबरको १ करोड ३६ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १।०२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन व्यापार उपसमूहको परिसूचक ०।९८ प्रतिशत बढेको छ भने अन्य उपसमूहको परिसूचक ०।७८ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक सामान्य घटेको छ।
कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५४ करोड ६५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एसवाई प्यानल नेपालको करिब ३५ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने बुटवल पावर कम्पनीको कारोबार रकम २८ करोड रुपैयाँ नाघेको छ।
थ्रिस्टार हाइड्रोपावरको शेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ७५ रुपैयाँ ६० पैसा बढेर ८३१ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने सुपर मादी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।