काठमाडौं । बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि बढीरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
यस दिन नेप्से परिसूचक ५.७० अंक बढेर २ हजार ६ सय २५ दशमलव ७० विन्दुमा पुगेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३ अर्ब २९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३२ स्टकको ५८ हजार ९६ पटकको कारोबारमा ४ अर्ब ५ करोड ३७ लाख २० हजार रुपैयाँबराबरको ८५ लाख ९८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १।७५ प्रतिशत बढेको छ। यस दिन होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको हो।
कारोबार रकमका आधारमा यस दिन यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड ७८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन मञ्जुश्री फाइनान्सको कारोबार रकम साढे १३ करोड रुपैयाँ नाघेको छ भने ङादी ग्रुप पावरको करिब साढे ११ करोड रुपैयाँको शेयर किनबेच भएको छ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लागेको छ। यस दिन स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको शेयर सकारात्मक सर्किट लागेको हो। त्यस्तै, यस दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ भने चिरख्वा हाइड्रोपावरको शेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ।