चीनले प्रभावकर्ता अर्थात इन्फ्लुएन्सरहरूका लागि आफ्ना सामग्रीमा छलफल गर्ने विषयमा डिग्री हुनैपर्ने नयाँ कानुन पारित गरेको छ। उक्त नियम अनुसार, यदि तपाईं इन्फ्लुएन्सर हुनुहुन्छ र तपाईंले गम्भीर विषयहरू, जस्तै- वित्त, स्वास्थ्य, चिकित्सा, कानुन वा शिक्षाबारे कुरा गर्न चाहनुहुन्छ भने, सम्बन्धित पेशागत योग्यताको प्रमाण प्रस्तुत गर्नुपर्नेछ। यो कानुन अक्टोबर २५ देखि लागू भएको हो, जसको उद्देश्य अनलाइनमा फैलिने गलत सूचना घटाउनु रहेको बताईएको छ।
चीनको साइबरस्पेस प्रशासन (CAC) ले मेडिकल उत्पादन र सेवासम्बन्धी विज्ञापनहरूमा पनि प्रतिबन्ध लगाएको छ, डेली मेलका अनुसार यो नयाँ नियमले चीनमा इन्फ्लुएन्सर संस्कृतिको कार्यशैलीमा ठूलो परिवर्तन ल्याउन सक्ने बताइएको छ।
इन्फ्लुएन्सरहरूका लागि कडा नियमन
इन्फ्लुएन्सरहरूले आफ्नो आधिकारिक योग्यता प्रमाणित गर्नुपर्ने यो नयाँ कानुनबारे अनलाइनमा व्यापक बहस सुरु भएको छ र यसले सिर्जनात्मकता र अभिव्यक्तिको स्वतन्त्रतामा असर पर्ने चिन्ता व्यक्त गरिएको छ।
तर, उक्त कानुनको बचाउ गर्दै चीनको साइबरस्पेस प्रशासन (CAC) ले भनेको छ- यो कदम मानिसहरूलाई अनलाइनमा फैलिने भ्रमपूर्ण र हानिकारक सल्लाहहरूबाट जोगाउनका लागि ल्याइएको हो।
इन्फ्लुएन्सरहरूले विश्वविद्यालय डिग्री, मान्य तालिम, लाइसेन्स वा प्रमाणपत्रमध्ये आफुसँग कुनै एक भएको प्रमाण देखाउनुपर्नेछ, त्यसपछि मात्र ती विषयमा सामग्री प्रकाशित गर्न पाइनेछ। चीनका प्रमुख प्लेटफर्महरू, जस्तै- डोउइन (चीनको टिकटक), वेइबो, बिलिबिली जस्ता सामाजिक संजालमा सक्रिय इन्फ्लुएन्सरहरूलाई पनि यो नियम लागू हुनेछ। उनीहरूले आफ्ना स्रष्टाहरूको योग्यताको प्रमाणीकरण गर्नुपर्नेछ र साझा गरिएको सामग्रीमा उचित सन्दर्भ र अस्वीकरण समावेश गरिएको सुनिश्चित गर्नुपर्नेछ।
नयाँ कानुनले कसरी काम गर्छ?
चीनमा सामाजिक सञ्जालमा सामग्री अपलोड गर्दा, इन्फ्लुएन्सरहरूले स्पष्ट रूपमा जनाउनुपर्नेछ कि उक्त सामग्री एआईद्वारा तयार गरिएको हो वा कुनै अध्ययन वा अनुसन्धानबाट लिइएको हो। साथै, नयाँ कानुनले मेडिकल उत्पादन, पूरक आहार र स्वास्थ्यसम्बन्धी खाद्य वस्तुहरूको विज्ञापनमा पनि प्रतिबन्ध लगाएको छ, ताकि “शैक्षिक सामग्री”का नाममा हुने झुटा वा सस्ता प्रचारहरू रोक्न सकियोस्।
कानुन अनुसार अनलाइन सामग्री साझा गर्दा प्रयोगकर्ता पनि आफ्नो जिम्मेवारीबारे सचेत रहनुपर्नेछ। यी परिवर्तनहरूले अनलाइन उत्तरदायित्व बढाउने र झूटा विज्ञापनहरू रोक्ने उद्देश्य राखेको मोरोक्को न्युजले जनाएको छ।
धेरैले यो निर्णयको स्वागत गरेका छन्, किनकि यसले प्लेटफर्महरूमा सुसूचित र विशेषज्ञद्वारा तयार सामग्री हेर्न मात्र प्रोत्साहित गर्नेछ। केहीले भने गलत जानकारी फैलन नदिनका लागि सम्बन्धित योग्यता भएका व्यक्तिहरूले मात्र यस्ता विषयमा छलफल गर्न पाउनु उचित हुने बताएका छन्।
“अब समय आएको छ कि वास्तविक विशेषज्ञहरूले नै छलफलको नेतृत्व गर्नुपर्छ।" एक वेइबो प्रयोगकर्ताले लेखे।
तर यो कानुनले अभिव्यक्तिको स्वतन्त्रता घटाउने, स्वतन्त्र आवाजहरू र सामाजिक सञ्जालमा हुने आलोचनात्मक बहसहरूलाई रोक्ने पनि कयौंले बताएका छन्।
“अब त विचार लेख्न पनि लाइसेन्स चाहिने होला।,” बेजिङस्थित एक स्रष्टाले व्यङ्ग्य गर्दै लेखे। आलोचकको भनाईमा भनाइमा- यो कानुनले कसलाई ‘विशेषज्ञ’ मान्ने भन्ने अधिकार अधिकारीहरूलाई अत्यधिक दिनेछ।
(यो रिपोर्ट एजेन्सीहरूको सहयोगमा तयार गरिएको हो।)