काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत जाँदै छ ।
देउवा समूहको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने आयोगको निर्णय अस्वीकार गर्दै कानुनी लडाइँमा जाने निर्णय गरेको हो ।
कानुनी पाटोको जिम्मा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको थियो ।
खड्का अहिले रिट तयार पार्नका लागि कानुन व्यवसायीहरुसँग छलफलमा छन् । गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरेर नयाँ कार्यसमिति चयन गरेका छन् । सभापति गगन थापा चुनिएका छन् ।
देउवा पक्षले भने नियमित महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नहुने भन्दै विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ ।